ब्रसेल्समा नेपाल भाषाका महाकविको जन्मजयन्ती सम्पन्न सम्वाददाता ब्रसेल्स, २० सेप्टेम्बर नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यको १४२ औं जन्म जयन्ती २० सेप्टेम्बर आईतवारका दिन ब्रसेल्समा भब्य साहित्यिक कार्यक्रमका साथ मनाइयो । पासा पुच बेल्जियमद्धारा आयोजित उक्त कार्यक्रममा कविता गोष्ठीको पनि आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय महासचिव साहित्यकार कृष्ण बजगाईंको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले महाकविको साहित्यिक योगदानको बारेमा चर्चा गर्नु भयो । प्रमुख अतिथि बजगाईंले महाकविले त्यतिबेलाको रुढीवादी समयमा पनि सुधारवादी चिन्तन राख्ने साहित्यकार हुनुहुन्थ्यो भन्नु हुँदै नेपाल भाषाको महाकविको जन्म जयन्ती मनाउनु राम्रो परम्पराको थालनी भएको बताउनु भयो । अनेसासले पनि मातृ भाषामा लेख्ने सर्जकहरुका लागि पुरस्कारको स्थापना गर्न लागेको कुरा बताउदै अनेसास आफ्नो स्थापनाकालदेखि नै राष्ट्र भाषाको विकाश र उत्थानको लागि सक्रिय रहेको जानाकारी गराउनु भयो । सम्बन्धीत सबै क्षेत्रबाट यस्तो कार्यको लागि सहयोगको अपेक्षा गर्नु भयो । कार्यक्रमका अतिथि एन आर एन बेल्जियमका अध्यक्ष पि.जी. शेर्पाले महाकविका कृतिहरुलाई अन्य भाषामा अनुवाद गराउनु पर्ने विचार ब्यक्त गर्नु भयो । एन आर एन आइसिसि सदस्य रविन्द्रमान श्रेष्ठले नेपाल भाषा आफैमा सम्पन्न भाषा भएकोले यसको उत्थानमा जोड दिनु पर्ने कुरा बताउनु भयो । नवनिर्वाचित एन आर एन आइसिसि सदस्य अर्जुन कुमार श्रेष्ठले यस्ता जन्म जयन्ती मनाउनाले भाषा साहित्यमा लाग्नेहरुलाई प्रेरणा मिल्छ भन्नु भयो । कार्यक्रम संयोजक तथा पासा पुच बेल्जियमका सल्लाहाकार सुरेन्द्रमान अमात्यले स्वागत मन्तब्य राख्दै उहाँको जीवनी माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सभाध्यक्ष तथा पासा पुच बेल्जियमका अध्यक्ष रजनी प्रधानले यो कार्यक्रमलाई निरन्तरता दिने कुरा बतााउनु भयो । कार्यक्रममा कविहरुले नेपाली तथा नेपाल भाषामा कविता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रमका लागि पठाइएको रुपेन्द्र श्रेष्ठ( क्यानडा) को कविता रुक्मणी अमात्यले, बालगोपाल श्रेष्ठ (नेदरलैण्ड)को कविता तक्दिर महर्जनले, छत्र बहादुर कायस्थ(काठमाण्डौं) को कविता रजनी प्रधानले, युवराज गुरुंग(बेल्जियम)को कविता अनुप श्रेष्ठले वाचन गर्नु भएको थियो भने राजकुमार पुडासैनीले पनि आफ्नो कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा नेपाल भाषा परिषदका अध्यक्ष फणिन्द्र रत्न बज्राचार्यले कार्यक्रमको सफलताको लागि नेपालबाट पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाईएको थियो । पासा पुच बेल्जियमका अध्यक्ष रजनी प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम तक्दिर महर्जनले संचालन गर्नु भएको थियो ।
|